माओवादी जनयुद्धको कहालीलाग्दो र त्रासद एक दशक । यो एक दशकमा भोग्नेले के के भोगे ? भनेर वा लेखेर साध्य छैन । कसैले लेखे होलान् आफ्ना पीडा, कसैकसैको भोगाई मृत्युसँगै विलीन भएर जानेछ । मेरो भोगाईको एउटा सानो अंश हो यो । यो संस्मरण लेखिएपछि विदेशबाट प्रकाशित हुने पत्रिका “नेपालीपत्र” तथा अन्य पत्रपत्रिकाहरुमा पनि प्रकाशित छ । मेरो नियति भावी पुस्ताले भोग्न नपरोस् भन्ने कामनासहित मेरा ब्लगका पाठकहरुका लागि–
केहीबेर अघि पश्चिममा सूर्य अस्ताइसकेका थिए । पूर्वी दिशाका पहाडहरुमा जब घाम उकालिन्थ्यो, तब अँध्यारोले छोप्न आइपुग्थ्यो– साथमा सन्त्रासको भारी बोकेर । त्यसपछि सन्त्रस्त मनहरु सिरकमुन्तिर गुडुलिन्थे सन्त्रास ओढेर । हाँस्न त परै जाओस्, रुनसमेत प्रतिबन्ध लागेको त्यो समयमा सदाझैं त्यस दिन पनि सन्त्रासको अँध्यारोले पूरै सहर निलिसकेको थियो– गम्लाङ्ग ।सन्त्रासको चढिरहेको त्यो जवानीसँगै एउटा गाडी शानसँग हुइँकिदै आयो र टक्क अडियो ।
कम्प्युटरमा काम गरिरहेका मेरा औंलाहरु किन किन त्यसै शिथिल भए । नौ नाडी गले । यस्सो चोर आँखाले नियालें– वाफ रे ! चारपांग्रे खैरे गाडी ?!!! बेलुकी ८ बजेदेखि निषेधाज्ञा (कफ्र्यू) भएकाले निरीह प्राणीहरु सहरको घेरा नाघेर गाउँ पुग्ने र सहरमै बस्नेहरु आआफ्नो बासस्थान पुग्ने हतारोमा थिए । पैदलयात्रीहरु पनि गति अलि तीब्र पारेर हिडिरहेका थिए, साइकलहरु रफ्तारमा कुदिरहेका थिए र केही मोटरसाइकलहरु पनि । किनभने अबको १५ मिनेटपछि सन्त्रासको भूतले पूरै सहर छोपिसक्नेछ । त्यसपछि आकाशमा ताराहरु रुन थाल्नेछन्, चन्द्रमा मलीन अनुहार बनाएर आँसु खसालिरहने छ ।
एकैछिनपछि आतंक मच्चिन थाल्यो । चारपांग्रे त्यो खैरे गाडीबाट निस्केका एक हूल बर्दीधारीहरुले जो भेटियो, कुट्न थाले । पैदलयात्री, साइकलयात्री, मोटरसाइकल यात्री, पसले जो भेटिए सबैले दनादन कुटाई खान थाले । चारैतिर सटर तानेको आवाजहरु आउन थाले । जोजसले छिटोछिटो सटर तान्न भ्याए, तिनीहरु बचे, जोजसले ढिलो गरे तिनीहरुका गालामा बर्दिधारीहरुका मुड्की, बन्दुकका कुन्दा सबै बजारिए । म फसें किंकर्तव्यविमूढको स्थितिमा । सटर बन्द गर्न जाऊँ कुट्ने हुन् कि भन्ने डर, नजाऊँ भित्रै पसेर ठोक्ने हुन् कि भन्ने त्रास । उभिएँ– के गर्ने र के नगर्नेको दोसाँधमा । सटर बन्द गर्न गए पनि कुटाई, नगए पनि कुटाई ! यताबाट कुटाई, उताबाट कुटाई ! जताबाट सोचे पनि आफ्नो भागमा कुटाई नै पर्ने देखिएपछि मनमनै सोचे– ‘भित्रै चूपचाप बसिरहनुभन्दा सटर बन्द गर्न जानु नै उचित होला । कमसेकम उनीहरुले हाम्रो आदेश मानेर बन्द गर्न थालेको छ भन्ने ठानेर छोडिदेलान् ।’ मान्छेको आशा न हो ! यस्सो हेरें– सडकमा रामधुलाई चलिरहेको थियो । सटरतिर हेरें– वाफ रे ! अरुको जस्तो भित्रैबाट बन्द गर्न नसकिने रहेछ । शिशा लगाएको हुनाले अरुको जस्तो भित्रैबाट सटर तानेर बच्ने गुञ्जायस देखिएन । बाहिरै जानुपर्ने देखियो । न्वारानदेखिको हिम्मत जुटाएर बाहिर निस्किएर सटर तलतिर ताने– घ्वार्र …. ।
‘झड्याम्म…. ।’ यस्तै आवाजमा मेरो गालामा बर्दिधारीको मुक्का बज्रियो ।
मैले तोरीको फूल देखें ।
सटर तान्दै गर्दा घोप्टो परेको मेरो टाउकोमा तीनपटक मुक्का बज्रिए– भुक्क, भुक्क, भुक्क ।
‘पसल बन्द गरिरहेकै त छु नि, किन हान्नुहुन्छ ?’ अति भएपछि रुन्चे र बडो टिठलाग्दो स्वरमा प्रतिवाद गरें ।
‘साला… । बढी बोल्छस् ?’ यत्ति भनेर खै कुन्नि उसले के सोच्यो ? ऊ फर्कियो ।
त्यो मौसम थियो– लाशहरुको लश्करको । गाउँगाउँमा सयौं, हजारौं मानिसहरुले माओवादीको आरोपमा कुटाई खानुको कुनै हिसाव थिएन त्यो बेला । त्यो बेला गाउँघरमा बर्दिधारीहरुको कुटाई मात्र खानु त भाग्यको कुरा थियो, प्यारको कुरा थियो, नाफाको कुरा थियो । किनभने सिङ्गो जीवन त बाँचेको हुन्थ्यो, त्यो अमूल्य जीवन नाफाको हुन्थ्यो । कतिको अङ्गभङ्ग भयो होला, कतिको त इहलीला नै समाप्त गराइयो । बलात्कारका घटना र घरहरुमा आगो लगाइएका समाचारहरु पनि बेलामौकामा आइरहेका थिए । कैयौं निर्दोष नागरिकहरु सामूहिक हत्यामा मारिएका थिए । त्यसको तुलनामा मेरो गाला र टाउकोमा बज्रेका ती चोट र मुक्काहरु एकदमै सामान्य थिए ।
तैपनि…. ।
तैपनि मेरो शरीर रिसले थरर्र काँप्यो । मेरो शरीरको रगत एक सय डिग्री सेल्सियसको तापक्रममा उम्लिरहेको अनुभूति भयो । मेरो आत्मसम्मान, मेरो स्वाभिमान, मेरो प्रतिष्ठा र मेरो इज्जतमा यसरी चोट परेको अनुभूति भयो कि मैले आफूलाई थाम्न सकिन । कसैलाई भनी बिराउनु छैन, कसैलाई गरी बिराएको पनि हैन । बेफ्वाँकमा कसैको कुटाई खाँदा मानिसलाई कस्तो हुँदो हो ? ‘कोही किन माओवादी हुन्छ ?’, हो, त्यो बेला मैले यो प्रश्नको उत्तर राम्रैसँग पाएँ । एकछिनका लागि यो संसार, यो दुनियाँ, घर, परिवार, छोराछोरी, श्रीमती सबै बिर्सिएँ र नाङ्गो खुकुरी नचाउँदै बाहिर निस्केर बर्दिधारी हूललाई छिनाल्ने आक्रोश जाग्यो । आज म सोच्छु– यस्तै भएर मानिसहरु मृत्युलाई हत्केलामा राखेर प्राणाहुति दिन मृत्युपत्रमा हस्ताक्षर गर्दा हुन् कि ! नत्र मृत्युसँग नडराउने संसारमा को छ हँ ? तर, मैले त्यसो गर्न सकिन । अनाहकमा कुटाई खाएको झोंकमा रन्थनिएर भित्तामा एक मुक्का बजारें । आफ्नै आँखा अगाडि कुटाई खाएको देखेकी मेरी श्रीमती आक्रोशित मुद्रामा हतियारधारी र बर्दीधारी ती हूलसँग भिड्न जाने र झम्टिने शैलीमा उभिएकी थिइन् । एउटी स्वाभिमान मगरकी छोरी न हुन्, उनले पनि होश गुमाइसकेकी थिइन् रिसको बेग थाम्न नसकेर । छोराहरु आश्चर्यचकित मुद्रामा हामी दुईलाई हेरिरहेका थिए । बर्दीधारीहरु नागरिकहरुको रामधुलाई सकेर पहिल्यै हिडिसकेका थिए ।
चोट त तीन मुक्का न हो । एकछिन दुख्यो हरायो । तर, त्यतिबेला कहाँ कहाँ दुख्यो ? अहिले शव्दमा वर्णन गर्न सकिन्न । अहिले यसो गम्दाखेरि लाग्छ– लाटोको पनि स्वाभिमान हुन्छ, आत्मसम्मान हुन्छ । रोल्पा तथा रुकुमका सिधासादा मेरा दाजुभाइ, दिदीबहिनीहरुको आत्मसम्मान र स्वाभिमानलाई यसरी नै कुल्चिइयो कुनै दिन । आफ्नो स्वाभिमान र आत्मसम्मान जहाँनेर कुल्चिइन्छ, त्यहींनेर फुट्दोरहेछ– बिद्रोहको मूल ।
अब के गर्ने ? अचानक यस्तो प्रश्न आयो मनमा । नेपाल पत्रकार महासंघ दाङ शाखाको सभापति हुनुहुन्थ्यो– सुशील गौतम सर । उहाँलाई घटनाबारे जानकारी गराएँ । नयाँ युगबोध दैनिकमा प्रताप रेग्मी सरलाई जानकारी गराएँ । पत्रकार साथीहरु सुदर्शन रिजाल, सागर पण्डित र जो मेरो सम्झनामा आउनुभयो उहाँहरु सबैसँग घटना विवरण सुनाए । नयाँ युगबोधका साथीहरुले समाचार छाप्ने कुरा गर्नुभयो । ‘हो त नि’ म पनि झल्यास्स भएँ र आफू कार्यरत अन्नपूर्ण पोष्ट दैनिक र दि हिमालयन टाइम्स दैनिकका लागि फोनबाटै समाचार टिपाएँ र कार्यालयलाई जानकारी पनि गराएँ । यति गर्दासम्म रातको करीव १० बजिसकेको थियो ।
‘टिनीनी…. टिनीनी…. टिनीनी…’ राति १० बजेको वरिपरि फोनको घण्टी बज्यो ।
‘…………’ फोन नं. अहिले सम्झना भएन ।
तर, मलाई थाहा थियो– त्यो फोन सैनिक ब्यारेकको थियो । डर भन्ने कुरा मबाट भागिसकेको थियो । त्यसैले फोन उठाएँ र भने– ‘हेलो … ।’
‘यो कहाँ प¥यो ?’ उताबाट सोधियो ।
‘तपाईं को बोल्नु भो, कसलाई खोज्नुभो ?’ प्रतिप्रश्न मेरो ।
‘यो कुन ठाउँ हो ?’ प्रश्नमाथि उताको अर्को प्रश्न ।
‘म उदय जीएम बोलेको । तपाईंले कसलाई खोज्नु भो ?’ मैले अलि प्रष्ट पार्न खोजें ।
‘ए, म कर्णेल शमशेर ठकुराठी बोलेको । अघि त्यहाँ के भएको हो र ?’
‘के हुनु थियो र सर ! तपाईंको टोली आएको थियो, बेफ्वाँकमा लतक खाइयो । कफ्र्यू समय नहुँदै सरेआम बजारमा यसरी लतक खाइयो । गाउँघरमा झन अहिलेसम्म सिधासाधा कति मानिसले यस्तो अनाहकमा लतक खाएका होलान् भन्ने पनि थाहा पाइयो सर’, यही जवाफ दिएँ मैले ।
उहाँले सोध्नु भो, ‘कस्तो गाडी थियो, कति बेला हो ?’
मैले भने– ‘पौने ८ बजेको थियो । गाडी कस्तो थियो मैले हेरिन ।’
‘मैले त्यस्तो आदेश दिएकै छैन । सिभिलमा हुँदा मेरै निधारमा पनि कर्णेल लेखेको हुँदैन । मेरा पनि आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरु छन् । यसरी त सबैले कुटाई खाने स्थिति आउँछ । जो भयो, त्यसका लागि गणपतिको हैसियतले म क्षमायाचना गर्छु । क्षतिपूर्ति चाहिन्छ भने पनि म दिन तयार छु । र, त्यसलाई म कारवाही गर्छु’, करसा’वले यस्तै बचन दिनुभयो । तत्कालीन अवस्थामा एउटा गणपतिले त्यस्तो बोल्ला भन्ने कुराको मैले कल्पनासम्म गरेको थिएन । उहाँले यी शव्दहरु बोलिरहँदा मेरो नदेखिने घाउमा मल्हम लगाएजस्तो भयो र अचानक, अनायासै मेरो आँखाका गह छिचोल्दै आँसुका डल्लाहरु झरे । ‘नखानु थियो, लतक खाइहालियो सर । चोट त निकै गहिरो लागेको छ । शायद यो चोटको घाउ मेरो जिन्दगीभर पुरिने छैन । जिन्दगीको यो उमेरसम्म आइपुग्दा पढ्दाखेरी कखरा सिक्दा आफ्नै गुरु र आफ्नै बाउबाहेक अहिलेसम्म कसैले हात उठाएको थिएन । तैपनि सरले फोन गर्नुभयो र यत्तिका कुराहरु गर्नुभयो । यसमा मलाई साह्रै खुशी लागेको छ’, भक्कानो फुटेर झण्डै झण्डै गला अवरुद्ध बनाएरै भए पनि मैले यति कुरा भन्न भ्याएँ । र, यो मनलाई केही राहत मिल्यो । उहाँसँगको टेलिफोन सम्वाद ध्यानपूर्वक सुनिरहेकी मेरी श्रीमती ज्ञानमालाको पनि आक्रोश केही थामिएको छनक पाएँ । उनको आँखाले त्यसै भनिरहेको थियो । शायद करसा’वको बचनले उनको मनमा पनि केही मल्हम लगाइदिएछ क्यारे !
‘दाइ, ह्याँ’को टेलिफोन नम्बर कति हो ?’ बिहानै उठेर कम्प्युटरमा टाइप गरिरहेको बेला एउटा युवक आएर टेलिफोन नम्बर माग्यो ।
‘किन ?’ यो प्रश्नसँगै मैले उसको शिरदेखि पाउसम्म र पाउदेखि शिरसम्म नियालें र हो न हो त्यो युवक ‘आर्मी’ नै हो भन्नेमा म ढुक्क भएँ ।
‘त्यत्तिकै । चाहिएको थियो’, उसले भन्यो ।
युवक आर्मी हो भन्ने प्रष्ट भइसकेपछि एक मनले भन्यो– दिन्न । अर्को मनले भन्यो– ‘अरे बबुरा ! तँ भागेर माओवादी बन्न पनि सक्दैनस्, गाउँ जान पनि सक्दैनस् । काम गरेर खाने हो । बेकारमा टेलिफोन नम्बर नदिएर के हुन्छ ? संकटकालको समयमा उनीहरुले कसको टेलिफोन नम्बर पत्ता लगाउन सक्दैनन् हँ ?’ टेलिफोन नम्बर दिनुभन्दा अर्को विकल्प नदेखेपछि मैले नम्बर टिपेर युवकलाई दिएँ र ऊ आफ्नो बाटो लाग्यो ।
युवक हिडेको ५ मिनेटजति समयमा फोनको घण्टी बज्यो– ‘टिनीनी…. टिनीनी …. ।’ यसो कलर आइडी हेरें ब्यारेकबाटै थियो ।
‘हेलो’, मैले भने ।
‘हिजो राति लतक खाइएछ नि हैन ?’ डरलाग्दो आवाजमा उताबाट सिंह गर्जिएझैं गर्जिएको आवाज आयो ।
‘हो, खाइयो’, बिरालो म्याउँ गरेको शैलीमा मैले भने ।
‘के कारणले लतक खाइएको हो, थाहा छ कि छैन ?’ उताको गर्जन ।
‘खै हजुर, कफ्र्यू उल्लंघन भनौं भने बल्ल पौने ८ बजेको थियो । फेरि कफ्र्यु उल्लंघन गरेको भए पनि त्यसवापत नियमानुसार कारवाही पो हुनुपर्ने । बेफ्वाँकमा लतक खाएजस्तो लागेको छ । अरु त किन हो ? तपाईंहरुलाई नै थाहा होला’, म्याउँ शैलीमै मैले कुरा सुनाएँ ।
‘हिजोको कुरा कर्णेललाई किन भनिस् ? भन्नैपर्ने भए हिजै मलाई किन नभनेको ? अझ कफ्र्यू समय भएको थिएन भन्ने ? आज १२ बजे ब्यारेकमा आउनू । तँलाई म यहीं ठीक गर्छु । मैले जे पनि गर्नसक्छु बुझिस् ?’, उताबाट गर्जनसहित यस्तो उर्दी आएपछि मेरो सातोपुत्लो उड्यो । मार्ने पो हो कि ?!!
‘हेर्नुस् सर, बेक्कारमा कुरालाई किन लम्ब्याउनु हुन्छ ? हिजो करसा’बले कुन्नि कताबाट थाहा पाएर फोन गर्नुभएको थियो । के भएको हो भनेर सोध्नुभएको थियो, मैले घटना बताइदिएको मात्रै हुँ । तपाईं आफै भन्नुस् । अन्यायमा परेपछि हामी कहाँ जाने ? तपाईंले कुटेपछि न्याय माग्न म माओवादीकोमा जाऊँ ? मलाई राम्ररी थाहा छ कि तपाईं जे पनि गर्नसक्नु हुन्छ । मलाई माओवादी भन्न सक्नुहुन्छ । आतंककारी भन्न सक्नुहुन्छ । थुन्न सक्नुहुन्छ र मार्न पनि । यी सबै कुरा मलाई थाहा छन् । तर, बेक्कारमा सहरबजारमा बसेर काम गरिखाने मानिसलाई त्यसरी आरोप लगाउन पाइन्न । तपाईंहरुको कफ्र्यूको बिजोग पनि हामीले देखेका छौं । सारा बजार र गाउँमा तपाईंहरुले कफ्र्यू लगाउनु भएको छ । गाउँघरमा कफ्र्यूको समयमा भोजभतेर गरेको, नाचगान गरेको, गीत गाउँदै हिडेको हाम्रै आँखाले देखेका छन् । माओवादीहरु राति मात्रै होइन, दिउँसै घुमिराख्छन् । खै कारवाही गर्न सकेको ? तपाईंहरुले रातको समयमा पूर्वमा कटुवा खोला र पश्चिममा सेवारखोला काटेर देखाउनुस् अनि बल्ल कफ्र्यूका कुरा गर्नुस् । तपाईंहरुको काम हामी बजारमा बसेका निहत्था र निरीह मानिसहरुलाई कुट्दै हिड्ने बाहेक अरु के पो छ र ! रह्यो कुरा १२ बजे त्यहाँ आउने । कि म यहाँबाट भागेर माओवादी बन्नुपर्छ कि त्यहाँ नै आउनुपर्छ । ठीक १२ बजे आउँछु । जे गर्ने हो त्यहीं गर्नुहोला ।’ लत्रेकै स्वरमा भए पनि मैले भन्ने कुरा बाँकी राखेन ।
‘बढ्ता नबोल्नु है । माओवादीलाई फोन गराउने ?’ उताबाट अझै अर्को आरोप थपियो । नजिकमा भए झ्याम्मै बजाइदिम् कि जस्तो पनि लाग्यो । तर, सम्हालिएर भने, ‘तपाईंले सबै मान्छेहरुलाई कहिलेदेखि माओवादी देख्न थाल्नुभो ? यहाँबाट प्रायःजसो सेना, सशस्त्र प्रहरी, जनपद प्रहरीका श्रीमती, छोराछोरी, आमाबुवा वा साथीभाइले फोन गर्छन् । के तपाईंहरुका आमाबुवा, छोराछोरी, श्रीमती, भाइबुहारी सबै माओवादी हुन् ? हुन् भने ठिकै छ । ल तपाईंले भनेकै सही । मैले त माओवादीलाई फोन गराएँ रे । त्यसवापत म दोषी नै भएँ रे । तर, तपाईंहरुले मलाई यो भन्नुस् कि आजको मितिसम्म मेरो टेलिफोनबाट कुराकानी गरेका कतिजना माओवादीलाई गिरफ्तार गर्नुभएको छ ? अहिलेसम्म किन एकजना पनि गिरफ्तार नगरेको ? के हेरेर बस्नुभएको छ ?’ मरता है तो क्या नहीं करता है भनेजस्तो भयो मलाई । बोल्नैपर्ने भयो । डरैडरको चौघेरामा उभिएरै भए पनि यत्ति कुरा चाहिँ मैले भने ।
‘अरु कुरा म क्यै जान्दैन । १२ बजे आउनू’, फेरि पनि उर्दी जारी भो ।
‘नआउने त कुरै भएन । म आउँछु त भनिहालें नि’, मैले भने । मनमनै सोचे– ‘उल्फटमा कता फसियो यार !’
यसको केही घण्टापछि फेरि फोन आयो ब्यारेकबाटै ।
फेरि पनि १२ बजे ब्यारेकमा आउने आदेश दियो । उसले यसपालि ‘गेटमा कसैले सोधे भने अफिसरलाई भेट्नुछ भन्नू’ भनेर अह्रायो । फेरि पनि उसले हिजोको घटना कर्णेललाई किन भनेको भनेर आपत्ति जनायो । मलाई लाग्यो– हिजो करसा’वले पक्कै गाली गरेको हुनुपर्छ । अप्रत्यक्षरुपमा बुझेको, अघिल्लो दिन करसा’वले गाली गर्नुभएछ र पछिल्लो दिन बिहानै उसैलाई जिम्मा छोडेर कतैको अपरेशनमा जानुभएछ । त्यही कारणले उसले मलाई दुःख दिन खोजेको बुझियो ।
घटनाको पछिल्लो अवस्थाबारे सुशील सरलगायत अरु साथीहरुलाई पनि जानकारी गराएँ । अन्नपूर्ण पोष्ट दैनिकको क्षेत्रीय कार्यालय नेपालगञ्जमा पनि जानकारी गराएँ । क्षेत्रीय कार्यालयका साथी सुरेन्द्र काफ्लेले घटनाबारे नेपालगञ्जस्थित पृतनापतिलाई जानकारी गराई किन त्यसो गरिएको हो ? भनेर सोध्नुभएछ । पृतनापतिले ‘तपाईंको साथीलाई केही हुँदैन । म भन्दिन्छु’ भन्नुभएछ । यता सुशील सरले पनि ब्यारेकमा फोन गरी माओवादी गतिविधि, मानवअधिकार, प्रेस स्वतन्त्रता, होलेरी लगायतका देशभर अपहृत भएका सेना तथा प्रहरीहरुलाई छुटाउन पत्रकारहरुले खेलेका भूमिका सबै विषयहरुमा कुराकानी गरी हिजो बेलुकीको घटनामा तपाईंहरुकै गल्ती छ भन्ने कुरामा सहमत गराउनु भएछ । अन्तमा उसैले फोन गरी ब्यारेक आउन नपर्ने भनेपछि बल्ल छुटकारा पाइयो– अनाहकमा आइलागेको समस्याबाट ।
जिन्दगीको यो फेरमा आइपुग्दासम्म मैले दुईजनाको हातबाट कुटाई खाएको थिएँ । आमाले त रोएर जित्नुहुन्थ्यो । केही उपद्रो गरेपछि वा नराम्रो काम गरेपछि आमा रुन थाल्नुहुन्थ्यो र म त्यत्तिकै गल्थें । गाउँमा एकजना शिक्षक हुनुहुन्थ्यो । उहाँको नाम ठ्याक्कै सम्झिन सकेन अहिले । कान कम सुन्ने भएकाले उहाँलाई सबै गाउँलेहरुले ‘भैरे मास्टर’ भन्ने गर्थे । उहाँले गाउँभरिका केटाकेटीलाई एउटा डाँडामा जम्मा गरेर पढाउनु हुन्थ्यो । एक दिन हामी केही केटाकेटीले नोटबुकको गातो च्यातेर डाँडाबाट तल फाल्दै त्यसलाई लिन गएर फेरि फाल्दै गरिरहेका थियौं । त्यही बेलामा उहाँ आएर बेस्सरी एक चाँटा लगाउनु भएको थियो । र, पढ्ने क्रममै केही कुरा नजान्दा आफ्नै बुवाको हातबाट कुटाई खानुपरेको थियो । तेस्रोपटक मैले देख्दै नदेखेका, जान्दै नजानेका व्यक्तिहरुबाट अनाहकमा तीन मुक्का खाँदा त्यो निकै दुख्यो । मैले भनिसकें– त्यो दुखाईको वर्णन शव्दमा गर्न सकिन्न । त्यही दिनदेखि मैले आफ्नो घडीको चाबी बटारेर घडीलाई दश मिनेट चलाख बनाएँ– नरहे बाँस, नबजे बाँसुरी भन्ने सोचेर । कफ्र्यूको नाममा फेरि कहिल्यै यस्तो सास्ती झेल्नु नपरोस् भनेर । त्यही दिनदेखि अहिलेसम्म मेरो घडी सधैं दश मिनेट अगाडि हुन्छ । हो– संसारभन्दा दश मिनेट अगाडि !
– रचनामिति : २०६३ फागुन २० गते (होली पर्व)