उदय जीएम
दाङ । जुनसुकै क्षेत्रका प्रतिभाहरुको संरक्षण, सम्बद्र्धन र प्रोत्साहनका लागि पुरस्कारको ठूलो महत्व रहने गर्दछ । राष्ट्रियस्तरमा ठूलाठूला पुरस्कारहरु स्थापित छन् र तिनले नेपालका कला, साहित्य, सँस्कृति, गीतसंगीत तथा समाजसेवा लगायतका क्षेत्रमा समर्पित व्यक्तित्व र प्रतिभाहरुलाई आफ्नो क्षेत्रमा लागिरहन प्रोत्साहित पनि गरिरहेकै छन् । पुरस्कार त्यस्तो चीज हो, जसले सुक्न थालेको विरुवालाई पनि मलजलको भूमिका निर्वाह गरेको पाइन्छ । यसले कुनै पनि क्षेत्रका प्रतिभाहरुलाई आफ्नो क्षेत्रमा डटिरहन प्रेरित गर्दछ ।
दाङ जिल्लामा पनि विभिन्न संघसंस्थाहरुले प्रतिभाहरुलाई प्रोत्साहन गर्न पुरस्कार स्थापना गरेका छन् । जिल्लामा क्रियाशील विभिन्न साहित्यिक संघसंस्थाहरु र व्यक्तिले पुरस्कारहरु स्थापना गरेका छन् । ती पुरस्कारहरुले यस क्षेत्रका प्रतिभाहरुलाई आफ्नो क्षेत्रमा क्रियाशील रहन थप ऊर्जा प्रदान गरिरहेका छन् । यसरी संस्थागतरुपमा पुरस्कार स्थापना गर्नेमा राप्तीकै जेठो साहित्यिक संस्था राप्ती साहित्य परिषद् अग्रस्थानमा रहेको छ ।
राप्ती साहित्य परिषद्
राप्ती साहित्य परिषद्ले हाल १७ वटा पुरस्कारहरु प्रदान गर्दै आएको छ । जेठो साहित्यिक संस्था भएकाले स्वभावतः यसले प्रदान गर्ने पुरस्कारहरु पनि धेरै रहेका छन् र यसले धेरै स्रष्टाहरुलाई पुरस्कृत र सम्मानित गरिरहेको छ । राप्ती साहित्य परिषद्मा पुरस्कार स्थापना गर्ने क्रमको सुरुवात साहित्यकार एवं अग्रज गिरिराज पन्तले गर्नुभएको हो । उहाँले आफ्ना पिता तारा पन्तको स्मृतिमा २०४५ सालमा १० हजार अक्षयकोष खडा गरी ‘तारापन्त पुरस्कार’को स्थापना गर्नुभएको हो । त्यसपछि वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माले २०४६ सालमा आफ्ना पिता यादवप्रसाद शर्माको सम्झनामा ‘यादव प्रतिभा पुरस्कार’ को स्थापना गर्नुभयो । यो पुरस्कारको अक्षयकोष पनि १० हजारकै रहेको छ । त्यस्तै २०४६ सालमै अग्रज साहित्यकार एवं समाजसेवी ऋषिराज जंगलीले पिता धनेश्वर पौडेलको सम्झनामा १० हजार अक्षयकोष रहेको ‘धनेश्वर पुरस्कार’ स्थापना गर्नुभयो । त्यसैगरी साहित्यकार पुरुषोत्तम खनालले आफ्ना पिता घनश्याम खनालको सम्झनामा २०४७ सालमा १० हजार अक्षयकोष रहेको ‘घनश्याम पुरस्कार’को स्थापना गर्नुभयो । साहित्यकार नरेशजंग राणाले पनि २०५२ सालमा आफ्ना पिता पद्मनाभ जंग राणाको सम्झनामा १० हजारकै अक्षयकोष स्थापना गरी ‘पद्मनाभ पुरस्कार’को स्थापना गर्नुभयो । पछि २०५३ सालमा माथि उल्लिखित पाँचवटै पुरस्कारलाई एउटैमा गाभेर ‘राप्ती साहित्य पुरस्कार’ नामाकरण गरियो । यही एकीकृत गरिएको ‘राप्ती साहित्य पुरस्कार’ नै राप्ती क्षेत्रको सबभन्दा ठूलो र चर्चित साहित्यिक पुरस्कारको रुपमा रह्यो ।
पुरस्कारहरु स्थापना हुने क्रममा महेश गौतमले आफ्ना मातापिता विष्णुप्रसाद र नुमादेवी गौतमको नाममा २०५४ सालमा १० हजार अक्षयकोष रहेको ‘विष्णुनुमा पुरस्कार’ स्थापना गर्नुभयो । यही लहरमा उभिनुभयो युवा साहित्यकार नवीन विभास र उहाँले आफ्ना मातापिता दिलसरी पुन र दलबहादुर पुनको नाममा २०५९ सालमा २० हजार अक्षयकोष रहेको ‘दिलसरी दल पुरस्कार’ स्थापना गर्नुभयो । यो पुरस्कारको अक्षयकोष अहिले ५० हजार भएको छ । २०६० सालमा सन्तोषकुमार शर्मा रेग्मीले आफ्ना हजूरबुवा÷हजूरआमा नन्दराम र हरिकलाको नाममा १० हजारकै अक्षयकोष रहेको ‘नन्दहरि प्रतिभा पुरस्कार’को स्थापना गरेर जिल्लामा पुरस्कार स्थापना गर्ने क्रमलाई निरन्तरता दिनुभयो । यहीक्रममा लेखक डिल्लीराज आचार्यले आफ्नी आमा डोमादेवी आचार्यको नाममा २०६१ सालमा १५ हजार अक्षयकोष रहेको ‘डोमादेवी पुरस्कार’को स्थापना गर्नुभयो । यही क्रममा २०६१ सालमा साहित्यकार पुरुषोत्तम खनालले आमा निमादेवी खनालको स्मृतिमा पनि १५ हजार अक्षयकोष रहेको ‘नुमादेवी खनाल स्मृति बालप्रतिभा पुरस्कार’को स्थापना गर्नुभयो । यो पुरस्कार बालप्रतिभाहरुलाई मात्र प्रदान गर्ने गरिन्छ ।
अग्रज लेखक सुशील गौतमले पनि आफ्ना पितामाता ऋषिराज गौतम र लक्ष्मीदेवी गौतमको स्मृतिमा २०६५ सालमा २० हजार अक्षयकोष रहेको ‘ऋषिलक्ष्मी साहित्य पुरस्कार’ स्थापना गरेर पुरस्कार स्थापनाको परम्परामा अर्को इँटा थप्नुभयो । अर्का अग्रज साहित्यकार सूर्यनाथ सापकोटाले पनि मातापिता देवीप्रसाद र चन्द्रकला सापकोटाको स्मृतिमा ३५ हजार अक्षयकोष राखी २०६५ सालमा ‘देवीचन्द्र साहित्य पुरस्कार’ स्थापना गर्नुभयो । त्यस्तै डा. लेखराज सुवेदीले मातापिता अपादेवी र मुकुन्दको सम्झनामा ‘अपा–मुकुन्द प्रज्ञा पुरस्कार’को स्थापना २०६५ मै गर्नुभयो र यसको अक्षयकोष ३० हजारको छ । त्यसैगरी गोपालचन्द्र पोख्रेलले आफ्नै नाममा २० हजारको अक्षयकोष स्थापना गरी २०६५ सालमै ‘गोपालचन्द्र साहित्य पुरस्कार’ स्थापना गर्नुभयो । प्यूठानका साहित्यकार भूपेन्द्र सुवेदीले मातापिता पद्मदेवी र कूलप्रसाद सुवेदीको नाममा ३१ हजार अक्षयकोष स्थापना गरी २०६६ सालमा ‘पद्मकूल स्मृति हाँस्यव्यंग्य पुरस्कार’ स्थापना गर्नुभयो । यस्तै साहित्यकार नगेन्द्र गुरुले मातापिता देवका आचार्य र दामोदर आचार्यको नाममा १० हजारको अक्षयकोष स्थापना गरी २०६५ सालमा ‘देवका–दामोदर स्मृति बाल प्रतिभा पुरस्कार’को स्थापना गर्नुभयो । यो पुरस्कार रोल्पा जिल्लाका बालप्रतिभा लागि हो ।
पुरस्कार स्थापना गर्ने दानवीरहरुको लहरमा उभिन आइपुग्ने अर्का साहित्यकार नेत्र एटम हुनुहुन्छ । उहाँले राप्ती साहित्य परिषद्मार्फत नै वितरण हुनेगरी २०६७ सालमा ‘राप्ती सिर्जना पुरस्कार’को स्थापना गर्नुभएको छ । दाङ जिल्लाकै स्रष्टा एटमले नेपाली साहित्यिक फाँटमा राष्ट्रियस्तरमै आफूलाई स्थापित गरिसक्नु भएको छ । आफू राष्ट्रियस्तरमै स्थापित भए पनि आफ्नो माटोलाई सम्झेर उहाँले १ लाख ५० हजारको अक्षयकोष स्थापना गर्नुभएको छ । उहाँले स्थापना गरेको यो पुरस्कार सम्भवतः पश्चिम नेपालकै सबभन्दा ठूलो राशिको पुरस्कार हो । माथि उल्लिखित अन्य पुरस्कारहरु जिल्ला विशेषमा लक्ष्यित गरिएका भए पनि ‘राप्ती सिर्जना पुरस्कार’ चाहिँ अलि फराकिलो अर्थात राप्ती क्षेत्रमै फैलिएको छ । भर्खरै स्थापना गरिएको हुनाले यो पुरस्कार यी पंक्ति लेख्दासम्म कसैलाई प्रदान गरिएको छैन । राप्ती क्षेत्रबाट वर्षभरि प्रकाशित जुनसुकै विधाको उत्कृष्ट पुस्तकलाई उक्त पुरस्कार दिने प्रावधान राखिएको परिषद्का अध्यक्ष पुरुषोत्तम खनाल बताउनुहुन्छ ।
दाङ साहित्य तथा संस्कृति प्रतिष्ठान
राप्ती साहित्य परिषद्जस्तै जिल्लाको साहित्यिक उन्नयनका लागि ‘दाङ साहित्य तथा सँस्कृति प्रतिष्ठान’ले पनि उल्लेखनीय भूमिका निर्वाह गरिरहेको छ । यसले पनि पुरस्कारको स्थापना गरी साहित्यिक प्रतिभाहरुलाई प्रोत्साहन दिने र ऊर्जा प्रदान गर्ने कार्यमा भूमिका खेलिरहेको छ । यसले हाल १८ वटा पुरस्कारहरु प्रदान गर्दै आएको छ ।
प्रतिष्ठानमार्फत प्रदान गर्नेगरी विभिन्न व्यक्तिहरुले पुरस्कारको स्थापना गर्नुभएको छ । २०५८ सालमा प्रदीपबहादुर शाहले ‘रेवन्तबहादुर शाह साहित्य प्रज्ञा पुरस्कार’ स्थापना गर्नुभयो । यसको अक्षयकोष ५ हजार १ रुपैयाँ रहेको छ । त्यस्तै, भरतमणि शर्मा घिमिरेले २०५७ सालमा २ हजार १ सय अक्षयकोष रहेको ‘भरतमणि शर्मा घिमिरे तथा शारदादेवी घिमिरे साहित्य सर्जक पुरस्कार’को स्थापना गर्नुभयो । त्यस्तै, स्वामी अद्वैतानन्द निरञ्जनले २०५७ सालमै ५ हजार १ रुपैयाँको अक्षयकोष राखी ‘स्वामी अद्वैतानन्द सर्जक प्रतिभा पुरस्कार’को स्थापना गर्नुभयो । डिल्लीबहादुर बस्नेत र क्षेत्रबहादुर बस्नेतले २०५७ सालमै ‘उदयबहादुर स्मृति सर्जक पुरस्कार’ स्थापना गर्नुभयो । यो पुरस्कारको अक्षयकोष १० हजारको छ । साहित्यप्रेमी पूर्णबहादुर भण्डारीले १० हजार १ सय ११ रुपैयाँको अक्षयकोष राखेर २०५७ सालमै ‘नन्दाराम–कौशिला भण्डारी साहित्य पुरस्कार’को स्थापना गरेर आफूलाई पुरस्कार संस्थापकको लहरमा उभ्याउनु भयो । तुलसीपुरकै कीर्तिबहादुर खड्काले २०५७ सालमै ५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरी ‘यज्ञबहादुर–विष्णुकुमारी स्मृति साहित्य पुरस्कार’को शुरुवात गर्नुभयो । रामबहादुर खत्रीले २०५७ सालमै ५ हजार ५ रुपैयाँको अक्षयकोष भएको ‘शोभाराम–बेलमतादेवी साहित्य पुरस्कार’ स्थापना गर्नुभयो भने साहित्यकार गणेश विषमले पनि २०५७ सालमै ५ हजार १ रुपैयाँको अक्षयकोष रहेको ‘कृष्णप्रसाद स्मृति सर्जक प्रज्ञा पुरस्कार’को स्थापना गर्नुभयो ।
तुलसीपुर क्षेत्रमा बढी क्रियाशील प्रतिष्ठानमा पुरस्कार स्थापना गर्ने दानवीरहरु क्रमशः अगाडि आउँदै गर्नुभयो र पुरस्कारहरुको संख्यामा पनि बृद्धि हुँदै गयो । यही क्रममा २०५७ सालमै साहित्यकार नरेशजंग राणाले ‘पद्मनाभ–तिलकुमारी राणा प्रतिभा पुरस्कार’को स्थापना गर्नुभयो भने २०६० सालमा लेखक डिल्लीराज आचार्यले ८ हजार रुपैयाँको अक्षयकोष रहेको ‘लोकमणि आचार्य बालप्रतिभा पुरस्कार’ स्थापना गर्नुभयो । २०६१ मा शुकदेव शर्मा लामिछानेले ‘तुलसा–गेगलाल साहित्य सर्जक पुरस्कार’ स्थापना गर्नुभयो । त्यसैगरी उत्तमकुमार श्रेष्ठले २०६१ मै १५ हजार अक्षयकोष रहेको ‘विष्णुदेवी श्रेष्ठ स्मृति साहित्य सर्जक पुरस्कार’को स्थापना गर्नुभयो भने रमेश केसीले पनि २०६१ सालमै ‘महेश साहित्य सर्जक पुरस्कार’ स्थापना गरेर पुरस्कारको संख्यामा अझ बृद्धि गर्नुभयो । त्यसैगरी क्षेत्रबहादु शाहले २०६३ सालमा ‘बालकृष्ण शाह स्मृति साहित्य पुरस्कार’को स्थापना गर्नुभयो । २०६३ सालमै दीपककुमार÷विजया आचार्यले ‘तोरण–छायाँ साहित्य पुरस्कार’को स्थापना गर्नुभयो भने भुवनेश्वर आचार्यले २०६५ सालमा ५ हजार अक्षयकोष रहेको ‘कृष्ण–इन्दिरा तथा हुमादेवी साहित्य÷संगीत पुरस्कार’को स्थापना गर्नुभयो । यस्तै, अन्नपूर्णा÷नारायण पोख्रेलले २०६७ सालमा ‘छविलाल पोख्रेल साहित्य तथा सर्जक पुरस्कार’ स्थापना गर्नुभयो भने देवबहादुर केसीले पनि २०६७ सालमै ‘देवबहादुर केसी देशभक्ति पुरस्कार’ स्थापना गरेर प्रतिष्ठानले प्रदान गर्ने पुरस्कारको संख्या १८ पुर्याउनु भयो ।
प्रगतिशील लेखक संघ
पुरस्कार स्थापना गरी जिल्लाको साहित्यिक उन्नयनका लागि समर्पित अर्को संस्था हो– प्रगतिशील लेखक संघ । देशव्यापी संरचना भएको संघको दाङ जिल्ला शाखामा हालसम्म ‘प्रगतिशील साहित्य पुरस्कार’, ‘गोविन्द ज्ञवाली साहित्य पुरस्कार’, ‘अनन्त–टीका प्रतिभा पुरस्कार’ र ‘गोविन्द चिस सर्जक पुरस्कार’ गरी चारवटा पुरस्कारहरु रहेका छन् । प्रगतिशील लेखक संघ दाङ स्वयंले २०६० सालमा ‘प्रगतिशील साहित्य पुरस्कार’को स्थापना गरेको हो । त्यस्तै साहित्यकार भक्तिराम ज्ञवालीले २०६१ सालमा ‘गोविन्द ज्ञवाली साहित्य पुरस्कार’ स्थापना गर्नुभयो भने श्याम चिसले २०६२ मा ‘गोविन्द चिस सर्जक पुरस्कार’को स्थापना गर्नुभयो । त्यसैगरी साहित्यकार पद्मप्रसाद शर्मा र शान्तादेवी अधिकारीले २०६२ सालमै ‘अनन्त–टीका प्रतिभा पुरस्कार’को स्थापना गर्नुभयो । चारवटै पुरस्कारको राशि १÷१ हजार रहेको छ ।
लेखक संघ दाङ
त्यसैगरी लेखक संघ दाङले पनि विभिन्न पुरस्कारहरु स्थापना गरेको छ । जसमा भैरव मजगैयाँले स्थापना गर्नुभएको ‘नन्द प्रज्ञा पुरस्कार’, बमबहादुर डीसी र शंकर पौडेलले स्थापना गर्नुभएको ‘बम–शंकर पुरस्कार’, नारायण नेपालले स्थापना गर्नुभएको ‘नारायण सल्यानी स्मृति पुरस्कार’ भरतमणि शर्मा घिमिरेले स्थापना गर्नुभएको ‘शारदादेवी–भरतमणि शर्मा घिमिरे पुरस्कार’ र समाजसेवी खगराज लोहनीले स्थापना गर्नुभएको ‘खगराज–शारदादेवी लोहनी पुरस्कार’ इत्यादि छन् । संघले पुरस्कार प्रदान गर्नेगरी साहित्यकार कृष्णराज सर्वहारीले पनि आफ्ना बाजेबज्यैको सम्झनामा २०६३ सालमा ‘डोम्ली–निबुलाल थारु साहित्य पुरस्कार’को स्थापना गर्नुभएको छ । त्यस्तै हरिप्रसाद पाण्डेयले पनि पुरस्कारको स्थापना गर्नुभएको छ ।
देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च
साहित्यिक संघसंस्था र पुरस्कारहरु दाङ उपत्यका र सदरमुकाम केन्द्रित भइरहेको सन्दर्भमा ‘देउखुरी साहित्य तथा साँस्कृतिक मञ्च’को स्थापना भयो । मञ्च स्थापना भएपछि यहाँ पनि साहित्यिक पुरस्कार स्थापना गर्ने लहर चलेको छ । हालसम्म यसले प्रदान गर्ने पुरस्कारको संख्या ५ पुगिसकेको छ । सर्वप्रथम साहित्यकार शेरबहादुर चौधरीले २०६५ सालमा मातापिताको सम्झनामा ‘ठागुरामपति स्मृति पुरस्कार’को स्थापना गरी पुरस्कार स्थापना गर्ने परम्पराको सुरुवात गर्नुभयो । ५ हजार १ रुपैयाँको अक्षयकोष रहेको यो पुरस्कार प्रत्येक वर्ष प्रदान गरिन्छ । त्यसैगरी दिलीपराज खनाल, भोजराज खनाल, ठाकुर खनाल, हरि खनाल र स्व. गुरुप्रसाद खनालले ८ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष राखी २०६६ सालमा मातापिताको सम्झनामा ‘गंगातारा खनाल स्मृति पुरस्कार’को स्थापना गर्नुभयो । त्यस्तै, मञ्च आफैले २०६६ सालमै १० हजारको अक्षयकोष खडा गरी ‘कतार–गढवा सम्पर्क मञ्च स्मृति पुरस्कार’को स्थापना गर्यो भने साहित्यकार हरि पोख्रेलले २०६६ सालमै ५ हजार १ को अक्षयकोष स्थापना गरेर ‘पोख्रेल पद्यसाहित्य पुरस्कार’को सुरुवात गर्नुभयो । आफ्ना मातापिता र सम्पूर्ण पोख्रेल थर विशेषको सम्झनामा उक्त पुरस्कारको स्थापना गरिएको हो । त्यस्तै, २०६६ सालमै १० हजार अक्षयकोष रहेको ‘भुसाल स्मृति पुरस्कार’को स्थापना गरिएको छ । यी पुरस्कारहरुले पनि देउखुरी उपत्यका, दाङ जिल्ला र समग्र देशकै साहित्यिक उन्नयनका लागि इँटा थप्ने काम गरिरहेका छन् ।
एकीकृत अखिल नेपाल जनसाँस्कृतिक महासंघ
यसैगरी अखिल नेपाल जनसाँस्कृतिक महासंघ दाङले पनि पुरस्कार स्थापना गरेर यहाँको साहित्यिक विकासमा टेवा पुर्याइरहेको छ । महासंघको दाङ शाखाले २०६६ सालमा ‘कृष्ण सेन इच्छुक स्मृति साहित्यिक पुरस्कार’ स्थापना गरेको छ । यसको पुरस्कार राशि ५ हजार रुपैयाँ रहेको छ ।
निष्कर्ष :
जिल्लामा साहित्यिक वातावरण निर्माण र स्रष्टा÷सिर्जनाको उचित मूल्यांकन र कदर तथा सम्मान गर्दै उल्लिखित पुरस्कारहरुले महत्वपूर्ण योगदान पुर्याइरहेका छन् । साना–ठूला सबै पुरस्कारहरुले साहित्यको श्रीवृद्धि गरिरहेकै छन् । यहाँ पुरस्कारहरुको साङ्गोपाङ्गो अध्ययनको जमर्को गरिएको छ । यी पुरस्कारहरुको समग्र र विस्तृत अध्ययनको खाँचो रहेको छ ।
साभार: अतिरिक्त साहित्यिक त्रैमासिक