सलाम जङ्कोट !

उभिएँ जङ्कोट डाँडाको टुप्पामा । एकाएक हिन्दी चलचित्र ‘बागवान’का दृश्यहरु मानसपटलमा नाचिरहे, दोहोरिइरहे । स्मृतिपटमा ‘बागवान’ ओझेल पर्दा कहिलेकाहीं आइपुग्थे मैले देखेका बृद्धाश्रमका चाउरिएका र सर्लक्कै उदासी पोतिएका अनुहार ।(विस्तारमा)

उसो त जानकारीमै थियो जङ्कोट । एउटा रोल्पाली भएकै नाताले पनि । तर, नजिकैबाट स्पर्श गर्ने मौका भने अहँ …।

आजभोलि दाङको शैक्षिक जगतमा गोर्खा स्कूलको सारथि बनेका साथी नोबल जीएमको जन्मथलो पनि यही जङ्कोट । तर, जङ्कोटलाई छुने कुरा ? अहँ …।

Jankotअलिकति मुन्तिर पूर्वअर्थमन्त्री वर्षमान पुन र वर्तमान उपसभामुख ओनसरी घर्तीको गाउँ माडीचौर । अहँ, माडीचौरमा पनि खुट्टा राख्ने मौकै मिलेन यो उमेरसम्म ।

हो, यसपालि त्यही जङ्कोटको डाँडो टेक्ने सु–अवसर जु¥यो । त्यही माडीचौर पुग्ने मौका मिल्यो ।

***

एकैछिन अलिकति फ्ल्यासब्याक हिडौं । दधिबन्धु घर्ती मगर अर्थात् आजभोलि फेसबुकमा भेटिने बन्धु मगर । उहिले बालकल्याण माध्यमिक विद्यालय लिवाङमा पढ्दा सँगै पढेका साथी उनी । बीचमा कता हराए उनी ? कता हराएँ म ? अरु साथीहरु पनि कता हराए कता ? अत्तोपत्तो भएन कसैको ।

रहस्यको पर्दा २०५९ सालतिर अलिकति खुल्यो । जब यी दधिबन्धु घर्ती मगरले ‘जङ्कोट डाँडाका सुसेलीहरु’ कवितासंग्रहको पाण्डुलिपि बोकेर फर्किए बेलायतबाट । यै कवितासंग्रह प्रकाशनको सिलसिलामा दधिबन्धुसँगको सम्बन्धले पुनर्ताजगी पायो । उनैबाट थाहा भो, आफू र परिवारको सुख अनि समृद्धि खोज्ने र कडा परिश्रम गर्नसक्ने एक बथान साथीहरुले बेलायती सेनामा भर्ती हुने अवसर चुमेछन् ।

त्यही बारीका केही साथीहरु भारतीय सेनामा आफूलाई खरो उतार्न सकेछन् । त्यसबाहेक ? त्यसबाहेकका साथीहरु चाहिं कोही नेपाली सेना, कोही जनपद प्रहरी, कोही खेतीकिसानी, कोही व्यापार व्यवसाय, कोही समाजसेवा र कोही तेस्रो मुलुकतिर । जीवन जिउने क्रममा कोही कता, कोही कता ।

२०५२ फागुन १ गतेदेखि रोल्पा पड्कियो । राज्यविरुद्ध रोल्पा पड्किएपछि बाँकी साथीहरु जति मनमस्तिष्कमा माओत्सेतुङ र प्रचण्ड बोकेर पड्किएछन् । आफ्नोमात्र होइन सिङ्गो नेपाली जनता, देश र समाजको समृद्धिको ‘महान सपना’ बोकेर पड्किएका ती साथीहरु भने हारथाक भएर बल्ल ‘विपनाको घरजम’ बसाल्दै गरेका भेटिए ।

कोही साथीहरुले भने पड्किने क्रममा जिन्दगीको यात्रा नै टुङ्ग्याएका कारुणिक कथा सुनिए । १० वर्षे द्वन्द्वको बाछिटा भनौं वा घाउ ? सेनाले लञ्चरले हानेर ढालेका सुन्दर घरहरुका भग्नावशेष भेटिए, माडीचौर–जङ्कोट उकालोमा ।

हो, यतिबेला दधिबन्धु घर्ती पुल बनेका थिए भने हामी साथीहरु भेटिएका थियौं– नौलसिंह पुन मगर, जगवीर पुन मगर, गङ्गामुक्ति पुन मगर र स्वयं दधिबन्धु घर्ती लगायतका साथीहरु । अर्का साथी दुर्गा बुढा भने बसाइँ सरिसकेछन् । कोही बेलायती सेनाका लाहुरे, कोही भारतीय सेनाका लाहुरे, कोही जनमुक्ति सेनाका लाहुरे अनि कोही तोरीलाहुरे !

हो, दधिबन्धुले ‘जङ्कोट डाँडाका सुसेलीहरु’मार्फत् जङ्कोटलाई सुसेलेका थिए । यो किताब पढ्दा लाग्थ्यो, दधिबन्धुले बेलायत पुगेर पनि बिर्सन नसक्ने कस्तो होला त्यो जङ्कोट ?

बेलायतको अत्याधुनिक जीवनशैलीमा भिजेका जङ्कोट–४ जङवाङका दधिबन्धु घर्ती मगरले आफू जन्मेहुर्केको माटोलाई पटक्कै भुल्न सकेका छैनन् । त्यसैले त उनी केही न केही बहाना लिएर नेपाल आउँछन्, जङ्कोट पुग्छन्, आफू जन्मेको माटोमा उभिएर एक थोपा आँसु चुहाउँछन्ध्र आफू हुर्केका उकाली र ओरालीसँग साक्षात्कार गरेर आफ्नो बाल्यकालतर्फ फर्किन्छन् ।

दधिबन्धुको काँधमा काँध थापेका छन्– उनका सहोदर भाइ डा. चन्द्र जीएमले । यी चन्द्र चीन पुगेर डाक्टर बनेर फर्के । तर, उनलाई टोपी खस्ने जङ्कोट–माडीचौरको उकालो ओरालोले पछ्याउन छोडेको छैन । हुङ्ग्री खोलाको सम्झनाले छोडेको छैन । माडीखोलाको पानी भुल्न सकेका छैनन् ।

तन बेलायत र नेपालका जुनसुकै भागमा पुगे पनि मन भने जङ्कोटको टोपी खस्ने उकालो चढिरहेको हुन्छ अनि पुल तरेर वल्लो माडीचौर र पल्लो माडीचौर गरिरहेको हुन्छ ।

jankot 5जेठा र कान्छा यी दुई भाइको काममा सघाइरहेछन्– वैदेशिक रोजगारीमा साउदी अरब पुगेका बीचका थीरबहादुर घर्तीले पनि । यी तीन भाइले लाखौं खर्चेर आफ्ना पिताको स्मृतिमा जङ्कोटमा ‘स्व. मैसर घर्ती मगरको समाधिस्थल’ निर्माण गरेका छन् भने प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् ।

उनीहरुको एउटै धोको रहेछ, ‘हामीले आफ्नो बाबालाई त बचाउन सकेनौं तर आफ्नो जन्मभूमि र आसपास क्षेत्रका सबैको आयु लम्ब्याउन सकियोस् । भौगोलिक विकटता, आर्थिक विपन्नता, अज्ञानता, स्वास्थ्यप्रतिको लापरवाही, स्वास्थ्यसंस्थाको पहुँच बाहिर भएर वा जुनसुकै कारणले भए पनि लुकेर, छिपेर, जमेर बसेका प्रत्येक नागरिकको रोगलाई उजागर गर्ने र तिनको निदानद्वारा सयौं–हजारौं आमाबुवा, दिदीबहिनीहरुलाई निरोगी बनाउने ।’

हो, यही सपना साकार पार्न यी दधिबन्धु र डा. चन्द्रले प्रत्येक वर्ष माडीचौरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । हुन त राज्यको दायित्वभित्र पर्छ यस्तो काम । तैपनि सबै दायित्व आफै बहन गर्दै लाखौं खर्चेर चलाइरहेछन्, स्वास्थ्य शिविर । साथीहरुको यही समाजसेवामा होस्टेमा हैंसे गर्न पुगेको थियो यो पङ्तिकार पनि जङ्कोट–माडीचौरमा स–परिवार ।

***

भारतीय सेनाबाट सेवानिवृत्त मैसर घर्ती मगरको २०६५ चैत २० गते देहावसान भएको थियो । पिताको मृत्युले मर्माहत भएका छोराहरुले आफ्ना पिताको सम्झनामा समाधिस्थलको निर्माण गर्नुका साथै वर्षेनी बृहत् स्वास्थ्य शिविर पनि सञ्चालन गर्दै आएका छन् । गत वर्षको निःशुल्क स्वास्थ्य शिविरमा करीब दुई हजार जनाले स्वास्थ्य सेवा लिएका थिए रे ।

यसपटक विद्युत आपूर्ति बन्द भएर रोल्पाका सबै सञ्चारमाध्यम अनि मोबाइल नेटवर्क अवरुद्ध भएकाले सूचना प्रवाह गर्न नसक्दा पनि करीब एक हजारको हाराहारीले स्वास्थ्य सेवा लिन पाए ।
राप्ती अञ्चल अस्पतालका डा. झपेन्द्र ढकाल (पाल्पा), डा. चन्द्र घर्ती (दाङ), डा. रिवेश केसी (काठमाडौं), डा. पुष्प भुसाल (दाङ) र डा. सन्तोष कुँवरको टोलीले ल्यावसहितको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन ग¥यो भने त्यसका लागि धनमाया गुरुङ (स्टाफ नर्स सुर्खेत), माया बुढा मगर (स्टाफ नर्स जुम्ला), करिश्मा सिंह ठकुरी (बीएस्सी नर्सिङ काठमाडौं) लगायत २० जनाको स्वास्थ्यकर्मीले स्वास्थ्य शिविरमा सहयोग पु¥याए ।

बच्चाबच्चीदेखि बृद्धबृद्धासम्मले लाइन लागेर स्वास्थ्य सेवा लिए । शिविरमै निःशुल्क भिडियो एक्सरे, ल्याव टेष्ट र औषधि वितरण गरिएकाले सेवाग्राहीहरु त्यसै पनि गद्गद् देखिएका थिए ।

कवि भनौं वा साथी ? समाजसेवी भनौं वा लाहुरे ? हो, उनै दधिबन्धुले आफ्नो फेसबुक वालमा रहस्यमय सन्देश पोष्ट गरेर नेपाल हिडेको जनाउ दिए । दाङ पुगेपछि उनको आग्रहलाई अस्वीकार गर्न सकिनँ मैले पनि । कुकुरले भन्छ रे, ‘दिनभर काम पनि छैन, फुर्सद पनि छैन ।’ यस्तै तालको मान्छे म । मेरा सामु कुनै उपाय थिएन, लतारिएरै पुग्नु थियो, जङ्कोट ।

डा. झपेन्द्र ढकालको समन्वयमा बैशाख ६ गते हिड्नुपर्ने थियो रोल्पा । ‘बाबाले आफू जन्मेको ठाउँ लैजानु भएन’, छोराहरुको उहिलेदेखिको गुनासो । ‘बूढाले आफू जन्मेको हुर्केको ठाउँ लैजानु भएन’, जीवनसाथीको गुनासो । ‘एसएलसी दिएपछि खालि समयमा लैजान्छु’ यस्तै रहन्थ्यो मेरो जवाफ ।

पत्तै नपाई छोरोले एसएलसी पनि दिइसकेछ । उनीहरुको माग सम्बोधन गर्नु थियो, त्यसैले म मेरो फौजसहित गोठै उठाएर तयार थिएँ ।

बिहान ११ बजेदेखि पर्खिएको दिउँसो ३ बजेतिर मात्रै घोराही पुग्नु भो डा. झपेन्द्र । घोराहीमा दधिबन्धुजीका बुहारी र भाञ्जी कीर्ति पनि गाडीमा बस्नु भो । ट्राफिकचोकमा करिश्मा सिंह ठकुरी । ट्राफिकचोकबाट डा. झपेन्द्र र मेरा दुई छोरा अर्को गाडीमा, हामी अर्को गाडीमा ।
कोहीसँग कसैको चिनापर्ची भए पो ! पुरोहितले जम्मा गरेका गाईजस्ता हामी ‘चूपचाप चार आना, बोलेपछि बाह्र आना’को शैलीमा लमही पुग्यौं ।

लमहीमा गाडीमा उक्लिए डा. पुष्प भुसाल । गाडी हुइँकिदै भालुबाङ पुग्यो । त्यहाँ काठमाडौंबाट आएका डा. रिवेश केसी, पोखराबाट आएका डा. सन्तोष कुँवर, स्टाफ नर्सहरु धनमाया गुरुङ, माया बुढा र प्राविधिक टोलीलाई दुबै गाडीमा राखेर हुइँकियौं प्यूठानतिर ।

बड्डाँडामा डा. झपेन्द्रको इच्छाका अगाडि सबै बन्धक भयौं । डेढ घण्टा कुरेर पनि जम्मा तीन पिस मःमः खाएर बेलुकी साढे ७ बजे झमक्कै रात परेपछि अगाडि बढ्यौं रोल्पातिर ।

पछि रहस्य खुल्यो डा. झपेन्द्रको अड्डीको । अस्पतालको ड्यूटी, शिविरमा लैजाने औषधिको व्यवस्थापन, गाडीको व्यवस्थापन र रोल्पा जाने साथीहरुसँग समन्वय गर्दागर्दै डा. साप त भोकभोकै !

राति ११ बजेतिर रोल्पाको लिवाङस्थित टुडीखेल पुग्यौं । दुई–तीन दिनदेखि विद्युत आपूर्ति बन्द भएको रोल्पाको लिवाङ सुनसान र शान्त थियो । घरघरमा धिपधिप बत्ती बलिरहेका देखिन्थे । मैले साथी आफन्तहरु बलबहादुर घर्ती, खेम बुढा, काशीराम डाँगी, नवीन लोचन मगर, खेमराज गाउँले, मानसिंह विक यस्तै–यस्तै नामहरु सम्झें । मोबाइल हेरें, अहँ मोबाइल नेटवर्क पनि गायब ।

रातारात माडीचौर पुग्नुको विकल्प थिएन । हाम्रो जम्बो टोलीको खाने बस्ने व्यवस्था उतै थियो । लिवाङमा दधिबन्धुजीका अर्की भाञ्जी जेनिशा पनि गाडीमै कोचिइन् र हुइँकियौं रातारात माडीचौरतिर ।

लिवाङ–रेउघा त सानो छँदा धेरै हिडियो एघार नम्बरको बसबाट । यसपालि धेरै वर्षपछि रोल्पा जाँदा त्यही बाटोमा गाडीमा हुइँकिदा फरक अनुभूति भइरहेको थियोध्र राति १२ बजेको वरिपरि माडीचौर पुगेर पर्खिरहेका डा. चन्द्रसँग भेट भयौं र न्यानो माया अनि सत्कार ग्रहण गर्दै थकानसहितको ज्यानलाई निद्रादेवीको जिम्मा लगायौं भोलिको जङ्कोट डाँडोको उकालो सम्झिँदै ।

***

माडीचौरदेखि जङ्कोटसम्म जीप त जाँदो रहेछ तैपनि खाना खाएर बिहान ९ बजेतिर उकालियौं जङ्कोट डाँडातिर । यात्राको चिरस्मरणका लागि हिडेरै जङ्कोट पुग्ने भनेर पाइला सार्दा जङ्कोट नजिकै थियो । हामी जति हिड्यौं जङ्कोट डाँडा उति नै टाढा हुँदै गयो । एउटा टुप्पा छिचोल्यो टुप्लुक्क अर्को टुप्पा । एउटा टुप्पा छिचोल्यो फेरि अर्को डाँडो ।

यता माडीखोला, उता हुङ्ग्रीखोला अनि टाढा–टाढासम्म फैलिएको क्षितिज । कहिले रुखमुनिको बिसौनीमा थकाई मार्दै, कहिले सुस्केरा हाल्दै त कहिले दधिबन्धुको ‘जङ्कोट डाँडाका सुसेलीहरु’ सम्झदै उकालिदै रह्यौं, उकालिदै रह्यौं ।

उकालिने क्रममा द्वन्द्वकालीन समयमा रेउघा नजिकबाट माओवादीलाई लक्षित गरी लञ्चर प्रहार गर्दा भत्किएका र आगो लागेका घरका भग्नावशेषहरुलाई पनि नजिकैबाट देख्यौं । सहरिया जीवनशैलीमा रमाएका डाक्टर सापहरु, नर्सहरु, प्राविधिक साथीहरु जङ्कोट पुग्लान् जस्तो लागेकै थिएन ।

अचम्म ! स्थानीयको एक घण्टाको बाटोमा करीब साढे तीन घण्टा लगाएरै भए पनि हाम्रो टोली पुग्यो, जङ्कोटको कोटमा । त्यहाँ गरिएको स्वागत सत्कार, बाजागाजा, झाँकी अनि ‘स्व. मैसर घर्ती समाधिस्थल’को उद्घाटन कार्यक्रम र सरङ्गे नाचले थकाइको अनुभूति नै हुन पाएन । हाइस्कूलका साथी तथा नेपाल रेडक्रस सोसाइटी रोल्पा शाखाका सभापति नौलसिंह पुन मगर प्रमुख अतिथि हुनुहुन्थ्यो कार्यक्रमको ।

रोल्पामा रेडक्रस बढी क्रियाशील र स्थापित भएजस्तो अनुभूति भयो । दाङमा नेपाल पत्रकार महासंघ स्थापित छ र त्यसका अध्यक्षलाई प्रमुख अतिथि बन्न भ्याइनभ्याई हुन्छ भने त्यहाँ रेडक्रसका अध्यक्षलाई हुँदोरहेछ । कार्यक्रममा धेरै साथीहरु बोल्यौं र गाडीमा ओरालियौं फेरि माडीचौरतिरै ।

बैशाख ८ र ९ गते माडीचौरमा निःशुल्क स्वास्थ्य शिविर थियो । डाक्टर, नर्स अनि अन्य स्वास्थ्यकर्मीहरुको टोली स्वास्थ्य शिविर सञ्चालनतिर लाग्यो भने मेरो परिवारचाहिं आफन्त र हाइस्कूल पढ्दाका साथीहरुसँगको भेटघाटमा जुट्यो ।

दुईदिने सफल स्वास्थ्य शिविरपछि नौ गते बेलुकी चर्चित लोकगायक खड्ग गर्बुजा मगर र स्थानीय कलाकारहरुको साङ्गीतिक भेटले सबैलाई भरपुर मनोरञ्जन प्रदान ग¥यो । डाक्टर, सिस्टर, प्रमुख अतिथि नौलसिंह पुन मात्रै होइन विगत २० वर्षयता पहिलोपटक नाच्न बाध्य पारे कलाकारहरुले यो पङ्तिकारलाई पनि ।

शारीरिक अपाङ्ग हुनुहुँदो रहेछ लोकगायक खड्ग गर्बुजा मगर । दधिबन्धुजी भन्दै हुनुहुन्थ्यो, ‘बाबा प्यारालाइसिस भएर यही ह्वीलचियरमा बसेर हिडडुल गर्नुहुन्थ्यो । गाउँलेहरुमा बुवाको सम्झनालाई ताजा पार्न खड्गजीलाई बोलाएको हुँ । हुन पनि खड्ग गर्बुजा मगरले स्व. मैसर घर्तीले प्रयोग गरेको ह्वीलचियर नै प्रयोग गरेर घुम्नुभयो माडीचौरमा र गाउनुभयो, बाल उदय माध्यमिक विद्यालय माडीचौरको प्राङ्गणमा ।

अर्को दिन १० गते बिहान फर्किनु थियो दाङतिरै । खाना र रमाइलोपछि स्थानीय माडी जलजला युवा क्लव र माडीचौरवासीको बिदाइ कार्यक्रमपछि कवि तथा साहित्यकार दधिबन्धु घर्तीले एउटा भावुक गजल सुनाए अनि बिदाइका बेलामा सबैलाई भावुकतामा ल्याएर धुरुधुरु रुवाए ।

अनि मैले पनि जवाफमा भनें, ‘छुट्टिने बेला भो आँखाबाट आँसु झारियो, जाऊँ कि नजाऊँ भन ए साथी हो दोधारमा परियो ।’ अनि हामी दधिबन्धु घर्ती र डा. चन्द्र जीएमलाई उतै छोडेर दाङतिर झ¥यौं ।

जाँदा पुरोहितका गाईजस्ता एकले अर्कोलाई नचिन्नेहरु फर्किने बेलामा सबै हेलमेल भइसकेका थियौं । एउटा गाडी र अर्को गाडीको टोलीबीच दोहोरी खेल्दै रमाइलो चलिरह्यो र गाडी कुदिरह्यो, कुदिरह्यो …।

***

यतिबेला यो संस्मरण लेखिरहँदा मैले उही हिन्दी चलचित्र ‘बागवान’ सम्झिरहेको छु । ‘बागवान’मा श्रीमतीको बहकाउमा लागेर बृद्ध अवस्थाका आमाबुवालाई अलग–अलग पाल्ने छोराहरुलाई सम्झें । आमाबुवालाई छिःछिः र दूरदूर गर्ने छोरा पात्रहरु दोहोरिइरहे ।

आफूहरु सम्पूर्णरुपमा सक्षम हुँदा पनि देवतासमान आमाबुवालाई बृद्धाश्रममा हुलेर फर्किने सन्तान(?)हरुका अनुहार सिनेमाका रिलजस्तै घुमे । डाँडामाथिका जून बनिसकेका आमाबुवालाई मनले पिराउने, वचनले पिराउने छोराबुहारी र छोरीहरु यै समाजमा कति छन् कति ?

‘नाङ्गै आएर नाङ्गै जाने हो’ भन्ने नाङ्गो यथार्थलाई क्षणिक स्वार्थमा अल्झिएर जिन्दगीमा एकपटक मात्र पाइने आमाबुवाका मन रुवाउने कुपुत्रहरु पनि कति छन् कति यो समाजमा ?

सिक्काका दुई पाटा भएझैं यहीं कतै हाम्रै समाजमा आफ्ना स्वर्गीय पिताको सम्झनामा सयौं–हजारौं आमाबुवाको आयु बढाउन लाखौं खर्चिने र डाक्टर नर्सहरुको जम्बो टोली बोकेर विकट जन्मभूमिका कुनाकन्दरामा पुग्ने दधिबन्धु घर्ती र डा. चन्द्र जीएमहरु पनि त छन् ।

प्रिय जङ्कोट ! यस्ता दधिबन्धु घर्ती र डा. चन्द्र जीएमजस्ता सन्तानहरु यो समाजलाई दियौ । यस्तै सन्तानहरु जन्माउँदै गर ।

सलाम जङ्कोट !

www.udayagm.com.np

साभार : नयाँ युगबोध दैनिक, दाङ । २०७१ जेठ १० गते

Jankot 1

jankot 2

jankot 4

Jankot

One Response to सलाम जङ्कोट !

Leave a Reply to udayagm Cancel reply

Your email address will not be published. Required fields are marked *


seven + = 16

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>