उदय जीएम
१. तपाईंले सामाजिक सञ्जाललाई कसरी प्रयोग गरिरहनु भएको छ ?
उत्तर: सामाजिक सञ्जाल विशेषतः सम्बन्ध विस्तारको गतिलो माध्यम हो । म सुखका क्षणहरुमा साथीहरुलाई खुशी बाँड्छु अनि दुःखका क्षणहरुमा पीडा पोख्छु । दैनिन्दिन आउने साना–ठूला घटनाक्रमहरुबारे प्रतिक्रिया दिन्छु । आफूसम्बद्ध केही जानकारीहरु दिन्छु, शव्द र तस्वीरहरुको माध्यमबाट । कहिलेकाहीँ म दाङ, रोल्पा, रुकुम, काठमाडौं, इलाम, अमेरिका, युके, अष्ट्रेलियादेखि मेरो घर वरिपरिका साथीहरुसँग एकसाथ कुरा गरिरहेको हुन्छु । सबै ठाउँका गतिविधिहरुको पनि जानकारी भइरहेको हुन्छ । विदेशबाट घर फर्केका साथीहरु भन्नुहुन्छ, “तपाईंको फेसबुक वाल हेर्ने हो भने करीव करीव धेरै कुराको जानकारी हुन्छ ।” त्यसबाहेक गीत, सङ्गीत, कला, पत्रकारिता, राजनीति, समाजसेवा, साहित्य, चलचित्र, शिक्षा, स्वास्थ्य लगायत हरेक क्षेत्रका हस्तीहरु र सर्वसाधारणसँग यसले सिधै सम्बन्ध जोडिदिन्छ । यदि सामाजिक सञ्जाल नहुँदो हो त त्यस्ता व्यक्तित्वहरुसँग हाम्रो सहज पहुँच हुने थिएन । सम्बन्धलाई दिगो बनाइराख्ने र सम्बन्धको कति सदुपयोग गर्ने भन्ने कुरा आफूमा निर्भर रहने कुरा हो । त्यसबाहेक प्रचार र भावनाहरु पोख्ने त छँदैछ । आजभोलि त झन भ्वाइस सेवाले सिधै कुरा गर्न मिल्ने भएपछि झन के चाहियो र ?
२. तपाईंको विचारमा सोसल मिडियाबाट पत्रकारहरुले के फाइदा लिन सक्छन् ?
उत्तर : सर्वसाधारणले पनि आफ्नो तरिकाले सामाजिक सञ्जालबाट फाइदा लिइरहेका हुन्छन् । त्यसबाहेक सर्वसाधारणले विभिन्न घटनाक्रम, गतिविधिहरु पोष्ट गर्ने क्रममा जान वा अञ्जानमा महत्वपूर्ण जानकारी वा सूचना पनि राखिरहेका हुन्छन् । यहींनेर एउटा पत्रकारले एङ्गल दिनसक्ने र समाचारको कोणबाट हेर्नसक्ने हो भने फाइदा लिन सक्छ । हरेक क्षेत्रका व्यक्तित्वहरुसँगको सम्बन्ध विस्तार त छँदैछ ।
३. तपाईंको विचारमा पत्रकारहरुले सोसल मिडियाबाट के फाइदा लिन सक्छन् ?
उत्तर : सर्वसाधारणले पनि आफ्नो तरिकाले सामाजिक सञ्जालबाट फाइदा लिइरहेका हुन्छन् । त्यसबाहेक सर्वसाधारणले विभिन्न घटनाक्रम, गतिविधिहरु पोष्ट गर्ने क्रममा जान वा अञ्जानमा महत्वपूर्ण जानकारी वा सूचना पनि राखिरहेका हुन्छन् । यहींनेर एउटा पत्रकारले एङ्गल दिनसक्ने र समाचारको कोणबाट हेर्नसक्ने हो भने फाइदा लिन सक्छ । हरेक क्षेत्रका व्यक्तित्वहरुसँगको सम्बन्ध विस्तार त छँदैछ । जस्तो कि अहिले तपाईं दाङमा बसेर धेरै जिल्लाका साथीहरुसँग यो प्रविधिवार्ताका लागि कुरा गरिरहनु भएको छ । भन्नुको मतलब सामाजिक सञ्जालको माध्यमबाट तपाईं भूगोल नाघेर पनि पत्रकारिता गर्न सक्नुहुन्छ ।
४. सोसल मिडियाबाट नेपालका पत्रकारहरुले कत्तिको फाइदा लिएको देख्नुहुन्छ ? दाङसहित राप्ती क्षेत्रमा यसको अवस्था कस्तो देख्नुहुन्छ ?
उत्तर : फाइदा भन्नाले यसलाई कसरी बुझ्ने भन्ने कुरा हो । अर्थोपार्जन भएपछि मात्रै फाइदा मान्ने हो भने बेग्लै कुरा । नत्र भने बीबीसीका अग्रज पत्रकार रवीन्द्र मिश्रको “खान पुगोस दिन पुगोस” भन्ने अभियान सामाजिक सञ्जालकै माध्यमबाट चलेको छ । भर्खरै जीटीभीको “डान्स इण्डिया डान्स सिजन थ्री”मा तेरिया मगरलाई जिताउन पनि सामाजिक सञ्जालको ठूलो योगदान रह्यो । त्यसबाहेक दुःख र पीडाका समाचारहरु शेयर हुँदा विदेशमा बस्ने नेपालीहरुले यही सञ्जालको माध्यमबाट थाहा पाउँछन् र यसैको माध्यमबाट सम्पर्क र सम्बन्ध कायम गरी राहत रकम पठाइदिने गरेका प्रशस्त उदाहरणहरु छन् । जहाँसम्म पत्रकारहरुको कुरा छ, फेसबुक वा ट्वीटरबाट केही कुरा पहिलो जानकारी पाएपछि त्यसमा थप सम्पर्क स्थापित गरी राम्रो समाचार तयार भयो भने पनि फाइदाकै कुरा भयो । मुख्य कुरा सम्पर्क र सम्बन्धको हो । फाइदा त त्यही सम्पर्क र सम्बन्धबाट लिने र दिने कुरा हो ।
५. यति महत्वपूर्ण माध्यम सोसल मिडियाको सदुपयोग र दुरुपयोगबारे सञ्चारमाध्यममा कत्तिको बहस हुने गरेको पाउनु हुन्छ ?
उत्तर : सामाजिक सञ्जालहरुको सदुपयोगबाट भएका राम्रा कामहरुको समाचार पढ्न पाइन्छ । त्यस्तै, तिनको दुरुपयोगबाट भएका अपराधिक घटनाहरुबारे पनि बेलामौकामा पढ्न पाइन्छ । त्यसबाहेक यिनको सदुपयोग र दुरुपयोगरे खासै बहस भएको मैले पाएको छैन ।
६. र अन्त्यमा, सोसल मिडियामा रम्न खोज्ने तर के गर्दा सदुपयोग र के गर्दा दुरुपयोग हुन्छ भन्ने जानकारी नपाएका युवाहरुलाई के भन्नुहुन्छ ?
उत्तर : तपाईंको हातमा खुकुरी छ भने त्यसको सदुपयोग वा दुरुपयोग के हुन सक्छन् ? आफ्नो कामलाई सजिलो बनाउन खुकुरी प्रयोग गर्नुभयो भने त्यो सदुपयोग भयो । त्यसले मान्छे काट्न थाल्नुभयो भने के हुन्छ ? अपराधी । सामाजिक सञ्जाल प्रयोग गर्दा पनि विवेक प्रयोग गर्नुपर्छ । स्वविवेक प्रयोग गरेर गलत काम नगर्नु नै बेस । नत्र त स्थिर सरकार, सुरक्षानिकायको बलियो संयन्त्र र आइटीका विज्ञहरुले खोज्ने हो भने जुन कुनामा बसेर गलत काम गरे पनि जमिनमुनि वा पानीमुनि गए पनि खोजेर निकाल्न सक्छ । यसतर्फ सबै सचेत हुनुपर्छ ।
साभार : नयाँ युगबोध दैनिक, दाङ